अमुल्य
हिलोभित्र उम्रिएका कमलका पातहरु,
टिप्नलाई लम्किएका कलकलाउँदा हातहरु ।
ठीक बेठीक नसोचेरै गरिएका छुल्याँइमा,
काँधमा हात राखिदिने दौंतरीका साथहरु ।
निगुरमुन्टी लगाएर कान समाई बस्नुपर्दा,
नैतिक शिक्षा पढाउने गुरुजीका बातहरु ।
झ्यालबाट सिरानीमा उज्यालोको धर्को खस्दा,
टोलाएरै काटिएका जुनेलीका रातहरु ।
उमंगका रंगहरुमा सम्झनामा पोतिएका,
मदिरालाई माथ गर्ने जवानीका मातहरु ।
हिलोभित्र उम्रिएका …
गजल ५
हृदयको झोलीभित्र सम्झनाको खात रहेछ
माया त्यसको नाममात्र, पीडा त्यसको जात रहेछ ।
इतिहासका पानाहरु समयले पल्टाइदिंदा
बेचैनीको दिन अनि अनिद्राको रात रहेछ ।
कल्पनामै रमाउने बेहोसीमा हराइदिने
एकान्तमा लट्ठपार्ने बिना नशाकै मात रहेछ ।
आँशुमात्र एक उपहार, हाँसो खुशी पराइ हुँदा
जीवनभरको प्रतिक्षाको अप्राप्तिनै सौगात रहेछ ।
प्रेमपथको कठोर यात्रा चोटग्रस्त एक्लो पथिक
बीचबाटोमै ठेस लाग्दा ताली मार्ने जमात रहेछ ।
हृदयको झोलीभित्र …..
गजल ४
अँध्यारो भो’ मनभित्रको आकाश अलिकति
नपाई तिम्रो मुस्कानको प्रकाश अलिकति ।
फूल नै हौ तिमी आखिर, खानी सौन्दर्यकी
लाख हुन्थ्यो पाएदेखि सुवास अलिकति ।
पूर्णचन्द्र मुहारबाट पन्छाउन बादल
गरिनौ कि अधर खोल्ने प्रयास अलिकति?
पीडा हुन्छ हृदयमा, अभावमा तिम्रो
दिन्नौ किन दर्दलाई निकास अलिकति?
मायामात्र प्रेमीलाई हुन्न रैछ काफी,
खाँचो भयो मायालाई विश्वास अलिकति ।।
अँध्यारो भो’ मनभित्रको।।।
गजल ३
भित्री मन यो ओइलिएको छ गुलाफ यहाँ फुलेर के?
मनको बाग छ उजाड उजाड कोईली यहाँ डुलेर के?
कुहिरो छ मडारिँदो छातीभित्र तूफानमा
झरी पछि बादल फाटि आकास यहाँ खुलेर के?
रित्याएर नयन सधैँ आगो मनको निभाउँछु
झूठो मुस्कान सधैँभरी ओठमा यहाँ खोलेर के?
बाँधिएन शरीरभित्र टाढा भयो हृदय नै
घाम र पानी इन्द्रेणीको रंगमा यहाँ घुलेर के?
दर्दबोकि यादहरु झुल्किरहन्छन् स्मृतिमा
मदिराको प्यालाभरी एकपल यहाँ भुलेर के?
भित्री मन यो……..
गजल २
ब्यूँझिएर आधा रातमा करायौ कि कसो?
एक्लो रातको सून्यतामा डरायौ कि कसो?
अल्मलिदा चारैतिर बाटो नपाएर
मानिसको भीडभित्रै हरायौ कि कसो?
हात समाई संगै हिड्ने सथी नरोजेर
एक्लै हिड्दा बाटो कतै बिरायौ कि कसो?
घोडा चढाई बादलपारी जून छुन लाने
सपनाको राजकुमार ठह्रायौ कि कसो?
सयजोडी तिमिलाई हेर्ने नयनहरुबाट
एकजोडी मेरै पो मन परायौ कि कसो?
ब्यूँझिएर आधा रातमा।।।।।।
- गजल
- अमुल्य
- जीवनयात्रा
- गजल ५