गजल ३
भित्री मन यो ओइलिएको छ गुलाफ यहाँ फुलेर के?
मनको बाग छ उजाड उजाड कोईली यहाँ डुलेर के?
कुहिरो छ मडारिँदो छातीभित्र तूफानमा
झरी पछि बादल फाटि आकास यहाँ खुलेर के?
रित्याएर नयन सधैँ आगो मनको निभाउँछु
झूठो मुस्कान सधैँभरी ओठमा यहाँ खोलेर के?
बाँधिएन शरीरभित्र टाढा भयो हृदय नै
घाम र पानी इन्द्रेणीको रंगमा यहाँ घुलेर के?
दर्दबोकि यादहरु झुल्किरहन्छन् स्मृतिमा
मदिराको प्यालाभरी एकपल यहाँ भुलेर के?
भित्री मन यो……..
गजल २
ब्यूँझिएर आधा रातमा करायौ कि कसो?
एक्लो रातको सून्यतामा डरायौ कि कसो?
अल्मलिदा चारैतिर बाटो नपाएर
मानिसको भीडभित्रै हरायौ कि कसो?
हात समाई संगै हिड्ने सथी नरोजेर
एक्लै हिड्दा बाटो कतै बिरायौ कि कसो?
घोडा चढाई बादलपारी जून छुन लाने
सपनाको राजकुमार ठह्रायौ कि कसो?
सयजोडी तिमिलाई हेर्ने नयनहरुबाट
एकजोडी मेरै पो मन परायौ कि कसो?
ब्यूँझिएर आधा रातमा।।।।।।
गजल १
आँखा जुद्धा नजरहरु झुकाएर गयौ
के के थियो मनमा कुरा लुकाएर गयौ ।
कल्पनामा पिरतीको माला उनेको थें
यथार्थमा गाँठो त्यस्को फुकाएर गयौ ।
बादलका आकृतिमा तस्वीर तिम्रो खोज्थें
मुहान थियो भावनाको, सुकाएर गयौ ।
निशब्द नै भएपनि वर्तालाप त थियो
बाँधेको मन खोल्ने मौक चुकाएर गयौ ।
माया गर्ने मायालुको माया नबुझेर
तिमीलाई नै राख्ने यो मन दुखाएर गयौ ।।
आँखा जुद्धा नजरहरु …..
गजल
हृदयमा गुन्जायमान झंकार चोरिएछ
कल्पनाको बागबाट बहार चोरिएछ ।
रित्तो रित्तो लाग्छ यो मन, सून्य सून्य खाली
मनभित्रै लुकाएको संसार चोरिएछ ।
चखेवाको जोडी बनाइ बादलपारी लाने
सपनाको स्वरूप अनि आकार चोरिएछ ।
हाँसेकै छ ओठ नयन छैन रसाएको
खुशी पार्ने मनलाई तर, आधार चोरिएछ ।
पाइला पाइला अमृतको प्याला पिलाउने
साँचेको थें पिरतीको भन्डार चोरिएछ ।।
हृदयमा गुन्जायमान ।।।।।
- गजल २
- गजल ४
- उपहार
- गजल १
- गजल ५
- दैनिकी
- जीवनयात्रा
