दैनिकी

यो दैनिकी हो
चार पर्खालले घेर्न नसकेका
असिमीत इच्छाहरुको दस्तावेज ।
म आफ्नै इच्छाबिना
बिनाकाम टुडिखेलको परिक्रमा गर्दोछु
भीडभित्र हराएको म,
आफैंमा रमाएको छु,
न घन्टाघरको घन्टीसंग चिन्तित
न घोडामाथिका जङ्गबहादुरसंग भयभीत
आउने जानेसंग अपरिचित
सिंगो सहरको सायद एकमात्र खुशी मन्छे
रत्नपार्कको चौरमा बसेर
आकाश नियाल्दैछु
“त्रीशुलीको झुरुम झुरुम
कान्छी बदाम पाँच रुपियाँ”
फूटपाथकी पसल्नीले
मेरो जेबको एक्स रे गरिदिन्छे
छि: मेरो हैसियत ।
खल्तीम कलम छ
कागज छैन,
विचार छ, शब्द छैन
रहर छ, श्रोत छैन
नभएपनि हुनेको कमी कत्ति छैन,
नभैनहुने को कस्तो खडेरी यो?
थाहा छैन यो मृगतृष्णा
कता कता भागिरहन्छ
मरुस्थल यो खाल्डोभित्र
न पंख लगाइ उड्न सक्ने
न पग्लिएरै विल्न सक्ने
एउटा जड जिन्दगी
म भइ भौंतारिरहन्छ
यो कायामा दैनिक ।
रत्नपार्कमा बितेको सिंगो दिन
रात भएर मलाई छोप्न आइपुग्छ
त्यो अन्धकारभित्र रुमलिएर म
चिच्याइरहन्छु-डराएर सून्यतासंग
टन्टलापुर घामसंगै
फेरि अर्को बिहान उदाइदिन्छ
मेरो इच्छाबिनै
म आफ्नै इच्छाबिना
बिनाकाम टुडिखेलको परिक्रमा गर्दोछु
यो दैनिकी हो
चार पर्खालभित्र नअटेका
असिमीत इच्छाहरुको दस्तावेज ।।

Tags: , ,

Sunday, October 25th, 2009| surplus | Literature | Poems | Comment | Trackback |

Reply