जीवनयात्रा

the journey of lifeजून हाम्रो अन्तिम लक्ष्यको प्रतीक बनेर दूर गगनमा मुस्कुराइरहेछ। हाम्रा महत्वकांक्षी हातहरु एकदिन जून नै पाउने आशमा बलेको दीपशिखा झैं माथि फर्किएका छन् । उकालो यात्रातर्फ उन्मुख छन हाम्रा हातहरु। हाम्रा हातहरु आगो झैं सधैं माथि चढ्न खोज्छन् । महाकबिले नसिकाएका भएपनि आगोले माथि चढ्न त्यसै पनि जान्ने थियो, तर उनले सिकाए – उडेर जून छुने इच्छा हरेक ब्यक्तिमा जड भएर बसेको छ। हाम्रा हातहरु आगोमा रुपान्तरित भएका छन्- बल्दो दीप बनेर।

जीवन एकोहोरो यात्रा हो। तर एकोहोरो भएर पनि यो सोझो यात्रा भने होइन । यहाँ थुप्रै मोड र घुम्तीहरु छन्, थुप्रै उकाली र ओरालीहरु छन् । थुप्रै सुस्केरा र थकाईहरु छन्, थुप्रै स्वागत र बिदाइहरु छन्। दु:ख पिराइ पनि छ जीवनमा, हास खेल ठट्टा पनि छ जीवनमा। त्यसैले जीवनयात्रा एक्लो यात्रा होइन। जीवनमा एउटै जुवामा नारिएर दुई बिपरित ध्रुवहरु आउने गरेका छन् । एउटा उकालोलाई फर्केर हेर्दा त्यो स्वत: ओरालो भइदिन्छ। त्यसैले जीवनमा उर्ध्वगमन मात्रै सम्भव छैन। जीवन अधोगमन पनि हो। आगो संगै पानी पनि एउटै सिक्काको अर्को पाटो मात्रै हो। दीप आँफै पनि त तेलको सहारामा बलेको हुन्छ। मैन पनि जती बल्दै जान्छ त्यत्ती पग्लदै जान्छ। त्यसैले तरलता जीवनको अभिन्न अङ हो। हो, त्यही तरलताले जीवनलाई चलयमान बनाउछ। बलेको मैन्बत्ती आँफैमा एउटा जीवनको प्रतीक हो । सधैं माथि उक्लने आगोलाई टुप्पोमा राखेर पनि आफ्नै भुईंमा उज्यालो पार्न असमर्थ मैन पलपल थोपाथोपामा ठोसबाट तरल हुँदै खीइदै गैरहेको हुन्छ। त्यसरी नै निस्चित लक्ष्यप्रप्तिको भ्रममा भौतारिएर अन्त्यमा आत्मसन्तुष्टिको अभावमा रिक्ततामात्र हात लाग्नु एउटा सामान्य जीवनको संक्षेप हो। बलेको मैन पनि एउटा जीवन हो । त्यसैले जीवनमा उकालो र ओरालोको समिश्रण छ। आगो र पानी को कन्ट्राष्ट छ। पानीको थोपाथोपाको खर्चमा हामी अझ बढी चहकिलो हुँदै आफू अगाडिको बाटो उजिल्याउन लागिपरेका छौं। अन्तिम बिन्दु अग्यात हुँदा हुँदै पनि हामी जून सम्मा पुग्ने यात्रामा छौं। हामी मैन झैं खीइदैछौं। दीप झैं सुक्दैछौं। म्रिगत्रिष्णामा बाच्नुनै हाम्रो जीवनयात्रा बनेको छ।

बिबिधता छ जीवनमा। शान्त समुद्रको जस्तो स्थिरता पनि छ जीवनमा। भयनक डढेलोको जस्तो उग्रता पनि छ। हामीमा अँध्यारो र उज्यालो दुबै निहित छ। हामी भने आफ्नै उज्यालोले आफ्नै अँध्यारो हटौन नसकेर कहिले आफ्नै अँध्यारोमा अल्मलिएका छौँ, कहिले आफ्नै उज्यालोले आँखा तिर्मिराएका छौँ। आफ्नै भुइँको उज्यालो पन्छाउन नसके पनि दीपले अर्कालाई उज्यालो दिनभने पछी परेको छैन। जीवनमा पनि त्यस्तै भएको छ। अर्काको खातिर जे जति जुन किसिमले काम गरेपनी आफ्नै अन्तरमनलाई खुशी पार्न जो कोही समर्थ हुन सकेका छैनन्। सम्पूर्णता नभएर सुन्यता नै जीवनको सार बनेको छ। परिस्थिती अनुकूल आगो र पानी हुन मान्छेले जान्नु परेको छ। तर हामीमा यि दुई शक्तिको कैयौ पटक गलत प्रयोग भएको छ। टाउकोमात्र भएको तर बुद्धी नभएको सलाइको काँटी झैँ हामीपनि उचित बिचार को अभावमा र गलत विचारको प्रभावमा थुप्रै पटक घोटिएर बल्न खोजेका छौँ। बल्नु भनेको त जज्वल्यमान हुनु हो, उज्यालो दिनु हो। परिचित हुनु हो। कुनै नवप्रप्तिको प्रतिक हो । तर बिडम्बना, हामी त बलेर पनि यसरी परिभाषित हुन सकेनौँ । हामी त बलेर खाक हुन थाल्यौँ। आँफैलाई निमिट्यान्न पर्ने यात्रामा हामी घोटीरहेछौँ। हामीमा निहित तरलता पनि हामीले जीवनलाई बहाव दिन प्रयोग गर्न सकेनौँ। बरु आँफैँलाई रुझायौँ, नबल्ने गरी ओसिलो बनायौँ। तरलता त जीवनको चलायमानको प्रतिक बन्नुपर्ने तर दुर्भाग्य मात्र अस्थिरताको प्रतिक बन्न पुग्यो। आज सम्मको हाम्रो ईतिहासले यही बताउँछ । हो, अझै पनि प्रकृतिक नियमहरु यथावत नै छन् । दीपशिखा अझै पनि माथि नै उक्लिरहन्छ, नयन रुँदाको आँशु व जून रुँदाको शीत, तरल अझैपनि तल नै बहन्छ। त्यसैले आगो र पानीले जीवनलाई प्रतिबिम्बित पनि गरी नै रहन्छ। तर उचित सम्योजन्को खाँचो छ । निष्पट अँध्यारोमा पनि शीतल जून सधैं आकाशमा मुस्कुराइरहन्छ। अझै पनि लाखौं ताराको उज्यालोलाई माथ गर्ने जूनको उज्यालो हाम्रो सपना हो, लक्ष्य हो, गन्तब्य हो र अन्तिम इच्छा हो, हुनु पनि पर्छ। बलेको दीप झैँ हाम्रा हातहरु सधैं माथि नै उचालिनुपर्छ । तर यि हातहरुले दीपले झैं गल्ती गर्नु हुँदैन। आफ्नो अँध्यारो हटाउन सक्नुपर्छ। उक्लने आशामा पग्लेर मैन झैं बिलाउनु हुँदैन। आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्नुपर्छ। आत्मिक खुशी प्राप्त गर्नुपर्छ। तब जून सम्मको दूरी गौण भैदिन्छ। भनिन्छ, जीवनका महत्वपूर्ण क्षणहरुमा कुनै पनि विद्वानका महत्वपूर्ण वाणीहरु निरर्थक भइदिन्छन र आफ्नै स्वनिर्णय सर्वोत्तम ठहर्छ। त्यसैले हामीलाई सल्काइदिन अग्रजहरु चाहिन्छन् तर हामी जून सम्मको यात्रा आफ्नै उज्यालोले तय गर्छौँ। प्रकृतिक रूपमा हामीमा आगो र पानी दुबै छ। त्यसैले जीवनका उकाली र ओरालीहरु हामीलाई सह्य छन्।

हाम्रा हातहरु जूनतर्फ लम्की नै रहनेछन्।

बिपुल (काठमांडौ, नेपाल) २०५८-११-२१

One Reply to “जीवनयात्रा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *